“२०२३ को क्रिसमस”

डिसेम्बरको अन्तिम हप्ताको बुधवार बाहिर सिमसिमे पानी परिरहेको छ । घरको मूल ढोकाको बायाँतिर शिबजीको मूर्ति साथै शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमा, २ वटा हरिया धुपीका स–साना बोटहरु । घरको अगाडि लनमा दायाँ–बायाँ घरको पहरा गरिरहेका झैं देखिने हाँगा–बिंगाहरु फैलिएका हरियोको नामों निशान नदेखिने खंग्रग परेका बडेमानका रुखहरु जो बसन्तको ब्यग्र पर्खाईमा आँखा ओछ्याएर हेरिरहेका झै देखिन्छन्। हाँसु कि नहासु झैं गर्दै हेरिरहेका कतै लनका हरिया कतै फुस्रा परेका दुबोहरुले मलाई नै हेरिरहेझैं लाग्छ ।
घरको अगाडिको फराकिलो कालोपत्रे बाटोमा फाट्ट फुट्ट गाडीहरु कुदीरहेका छन् । बाटोको पारीपट्टी चुटुक्क–चुटुक्क परेका स–साना उज्यालो रंग पोतिएका घरहरु मुस्कुराएझैं देखिन्छन् ।
मेरी प्रिय सपना दिदी आफ्नो नित्य कर्म सकेर म संगै चिया पिई आफ्नो झोली तुम्बा बोकेर चट्ट आफ्नो चुटुक्क परेको सेतो कार चलाउँदै आज देखि आफ्नो कर्म क्षेत्रमा कुदीसक्नु भयो। साँच्चै नै केटी मान्छेहरुले ड्राईभ गरेको हेरिरहुँ झैं लाग्छ मलाई । त्यसैले दिदीले हात हल्लाउँदै परसम्म जानु भएको रमाईलो दृष्य आँखाबाट ओझेल नपरुन्जेल हेरिरहें ।
मौसम भने बिबाहमा माईतबाट आँखामा टिलपिल आँशु पार्दै सुँक्क–सुँक्क गर्दै अन्मिन लागेकी दुःख र खुसी मिश्रित दुलही झैं बनेको छ । मनले नमान्दा नमान्दै पनि एकातिर २०२३ को बिदाई गर्नुछ भने अर्कोतिर नयाँबर्ष २०२४ को भव्य स्वागत पनि गर्नुछ । पृथ्वीमा मान्छेको आफ्नो कार्यकाल नसकुन्जेल यो रीत यसरीनै चलिरहन्छ ।
बाताबरण शान्त र सौम्य छ । शहरबाट क्रिसमस मनाउन हरेक बर्ष झै यसपाली पनि न्यूयोर्क राज्यको माथिल्लो भागमा रहेको दिदीको घरमा केही दिनको लागि आएका हामी । गएका बर्षहरुमा भने भ्याईनभ्याई हामी क्रिसमसको दिनमा नै घर फर्कन्थ्यौ र घर जाने बाटोमा ओर्लेर भाई राम र बहिनी लक्ष्मीको निबासमा सबै भाई र बहिनीसंग क्रिसमस मनाउन सरिक हुन्थ्यौं । यसपाली भाई राम र बहिनी लक्ष्मीले न्यूयोर्क शहरबाट अलि टाढा आफ्नै निबास किनेर सरेको पनि केही महिना बितीसकेको छ । यस विचमा भाई राकेश र बहिनी अन्जनाले पनि राम भाईको निबास नजिकै आफ्नै निबासको ब्यबस्था गरेर जीवनयापन गरिसकेका छन ्। भाई राजन र बहिनी अस्मिताले घर किनेर सरेको पनि करिब २ बर्ष बितिसकेकोछ ।
बिस्तारै एकपछि अर्कों गर्दै सम्पत्ति जोड्दैछन् । प्रिय भाई–बहिनीहरुको प्रगति देखेर हामी मख्ख परेकाछौं । यसको मतलब अब जत्ति डौडधुप गरेर दिदीको घरबाट फर्केपनि उनीहरुसंग क्रिसमस मनाउन अलि हम्मे हम्मे पर्ने भएकोले दिदीहरुसंग क्रिसमस र भाई–बहिनीसंग नयाँ बर्ष २०२४ मनाउने निर्णय गरेर यसपाली अफिसमा छुट्टी लिएर शहरको कोलाहलबाट १÷२ दिन भएपनि छुटकारा पाएकाछौं ।
ईशाई धर्मावलम्बीहरुको यो महान चाँड “क्रिसमस” ठ्याक्कै हामी हिन्दुहरुको महान चाड दशैं झै लाग्छ मलाई । दशैंमा टाढा–टाढाबाट आफ्नो परिवारहरुसंग भेटघाट गर्न मान्छेहरु आफ्नो घर पुग्छन् अनि आफ्नाहरुका मन चसक्क पार्ने ब्यबहारले मन फाटेका आफ्नाहरु पनि सबै तिता क्षणहरु भूलेर फेरी माया, प्रेम र स्नेहले मनलाई सिउन पुग्छन् भने यो क्रिसमस चाड पनि ठीक त्यस्तै पखेटा लागेका बचेराहरु आफ्नो बाबु–आमाको गुँड छोडेर टाढा–टाढा पुगेपनि अरु बेला भेट्न नसकेपनि क्रिसमसमा त घर गएर आमा–बालाई भेट्छु, दिदी बहिनी, दाजु–भाईहरु लगायत सम्पूर्ण परिवारहरुलाई भेट्घाट गरेर रमाउँछु भन्दै सबैले – सबैलाई आफ्नो गक्ष्य अनुसार उपहार किनेर, क्रिसमसको दिन गनेर बस्दा रहेछन् । साथै यहाँ पनि यो दिन बिगतका तिता–मिठा क्षणहरुलाई भुलेर आफ्नोले आफ्नासंग माफ माग्ने र माफ दिने चलन हुंदोरहेछ दशैंमा झैं । यस्ता राम्रा पक्षहरुले गर्दा नै मलाई क्रिसमस साह्रै मन पर्छ । यसमाथि अमेरीकामा बसेपछि सबै किसिमका आ–आफ्नै धर्म प्रति विश्वास राख्ने हामी मान्छेहरुको लागि क्रिसमस त अब आफ्नै चाड बनिसक्यो भन्दा फरक नपर्ला ।
आखिर यो संसार पनि एउटा ठुलो समुन्द्र त हो नि ! समुन्द्रमा बसेपछि त्यहाँ बसोबास् गर्ने सबै प्राणीसंग मैत्री भाव राख्न सक्यो भने जीवन बाँच्न सरल र सजिलो हुन्छ नत्र त कुरा उही हो । सपना दिदीहरु अमेरीकामा नै बसोबास गर्न सन. २००८ मा आउनुभए देखि नै हरेक बर्ष दिदी–भिनाजुले “क्रिसमस” चाँडसंगै मनाउन हामीलाई स्नेहका साथ निर्देशन दिनु भएपछि दशैंमा टिका लगाउन ठुलो मान्नु पर्ने थकालीको घरमा गए झैं क्रिसमस मनाउन हामी दिदीहरुको घरमा आउने हाम्रो परम्पराले आजसम्म निरन्तरता पाई नै रहेकोछ सन् २०२० र २०२१ प्याण्डामिकको समयमा बाहेक ।
आज त मौसम पनि घरदेशमा दशैं आउन लाग्दा जस्तो तुवाँलोले डम्म ढाकेको छ । बाहिर सिमसिम् पानी परेकोले हिंजो अस्ति जस्तो बिहानीको हिंडाई पनि गर्न सकिएन । चिसोको कारणले झण्डै २ महिना हिंड्न छुटेकोले हिंड्ने बानी पनि छुटीसकेछ । हिंडाई भन्ने कुरा मान्छेको स्वास्थ्य को लागि कत्ति महत्वपूर्ण रहेछ भन्ने कुरा फेरी मैले महशुस गर्न पुगेकीछु।आज त घर पनि फर्किनुछ । देब दाई, भउजु र नानीहरुलाई भेटघाटको लागि साँझ बोलाएकीछु घरमा ।
दाई र भाउजुलाई सम्झिने बित्तिकै मलाई उहाँहरुको बि.सं. २०५१ सालमा बिहेमा भाउजुको माईती पाँचखालमा जन्ती गएको कुराको मिठो स्मृति मानसपटलमा छाउँछ । सायद मेरो जीवनमा पहिलो पटक दाईको बिहेमा पाँचखालको त्यो प्राकृतिक रमणिय दृष्यहरुसंग साक्षात्कार गरेको अनि साईपाटा लिएर जाँदा मुना भाउजुको बाबाले हामीलाई टिका लगाएर खाममा पैसा राखेर दक्षिणा दिनुभएको । भउजुलाई लिएर फर्कंदा भउजुको दाईजो शिसाको कफी टेबलमा जन्तिहरु बसेर शिसा फुटेको कुराले अझै पनि हासों लाग्छ । त्यो टेबल त त्यसपछि पनि २ पटक फुटीसक्यो रे भनेर भउजुले सुनाउनुहुँदा म त मज्जाले नै हासेकी थिएँ ।
समयले हामीलाई श्रृंखलाबद्ध रुपमा अगाडि बढाईसकेकोछ । यस विचमा दाई भउजुको सुन्दर बगैंचामा २ वटा सुन्दर फूलहरु फुलेका छन् । मारिषा र मानुषी । दुबैजना साह्रै प्रतिभाशाली छन् । मारिषाले त मास्टरको ग्राजुएशन पनि सकीन् अस्ति डिसेम्बर १३ तारीख। समयको अभाबले हामी सहभागी हुन सकेनौं । त्यसै शिलशिलामा दाई–भउजु अमेरीका आउनु भएको हो। मानुषी पनि मास्टर गर्दैछे ।
दाई–भाउजु पनि हामीलाई माया गर्नुहुन्छ । अहिले त बच्चाहरु पनि जोडिएका छन् । समयले जता जता पुर्याए पनि यो हाम्रो बर्षौ बर्ष अघि देखि मनको नाता, माया र स्नेह जस्ताको त्यस्तै सुन्दर र सुमधुर बनेर हामी विच बगेकोछ । यसैमा हामी धेरै खुसी छौं। घर पुगेर सानो भएपनि मारिषाको ग्राजुयशन पनि मनाउने योजना बुनिसकेकीछु ।
आशा एबं विश्वास छ हामी समयमा नै घर पुगेर मैले सोचेको जस्तै सबै कुरा गर्न भ्याउनेछु ।
फर्कंदा एम ट्याकको झ्यालमा बसेर हड्सनको तिरैतिरको सुन्दर दृष्य हेर्दै जीवनका अरु योजनाहरु पनि बुन्दै जानेछु । सबै योजनाहरु पुरा होलान् नहोलान् ती आफ्नै ठाउँमा छन् । तर खुला आँखाले देखेको सपना पुरा हुन्छ भन्छन् ।
हेर्दै जाउँ……

लक्ष्मी श्रेष्ठ
सुन्दराजल, काठमाडौं
हालः न्यूयोर्क, यु.एस.ए.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार