बेलिना थापा ।
म अभिभावक बनिसकेको मान्छे होइन तर पनि बालबालिकासँग नजिक छु । उनीहरूसँग खेलेको छु । कुरा गरेको छु । उनीहरूको कुरा सुनेको छु ।
उनीहरूलाई अहिले पढ्न र साथीसँग खेल्नभन्दा मोबाइल चलाउन मन पर्छ । मोबाइल पाए, भोकैसमेत बस्न सक्ने भएका छन् बालबालिका । मेरा आफन्त, छिमेकीको घर पुग्दा होस् वा सवारी साधनमा यात्रा गर्दा मैले यसबारेमा ख्याल गरेको छु । बालबालिका के गरिरहेका छन्, के भन्छन् भन्नेमा मेरो ध्यान जाने गर्छ । सवारी साधनमा बालबालिकाले यात्रा गर्दा जंक फुड खान मन पराउनु त कुनै नौलो कुरा होइन । बालबालिकादेखि अभिभावकसम्म जंक फुडको मोह छ । बसको झ्यालबाट बाहेर हेरेर बाहिरी वातावरणबारेमा कुरा गर्ने बालबालिका कमै छन् । केही बालबालिकाले बाहिरको वातावरणसँग रमाएर कुरा गर्ने, जिज्ञासा राखे पनि अभिभावकलाई बच्चाको बोलीले वाक्क बनाउँछ ।
‘नबोल है, कति बोलेको, थाहा छैन मलाई ।’
‘लौ, यो मोबाइलमा गेम खेल बरु ।’ भन्दै अभिभावक मस्त निदाउन चाहन्छन् ।
आफन्तको घरमा होस् वा छिमेकीको घरमा पुगौँ, बालबालिका मोबाइलमा तल्लीन देखिन्छन् । एक्लै मोबाइल चलाइरहेको देख्छौँ । केही साथीहरूसँग मिलेर मोबाइलमा गेम खेल्ने गरेको देखिन्छ । मोबाइलमा नयाँनयाँ एपहरू र खेलहरू पनि उनीहरूले डाउनलोड गर्छन् ।
हुर्कंदै गर्दा, रुन थाल्यो भने मोबाइल देखाएर फकाउँछौं । घर बाहिर काम गर्नुपर्ने भएमा वा घरभित्रै केही काम परेमा बच्चालाई मोबाइल दिने गर्छौं । मोबाइल हेर्दै बालबालिका रमाउँछन् । अभिभावक काम फत्ते गर्छन् । सानैदेखि मोइबाल हेर्दै आएका बालबालिका उमेर बढ्दै जाँदा मोबाइल बिना खानासमेत नखानेसम्म भएको देखेका छौँ । दिउँसोको समयमा विद्यालयमा जाने बालबालिका घर आएलगत्तै बाउआमाले मोबाइल कता राखे भन्दै खोज्न थाल्छन् ।
उसलाई खाजा के खाने भन्ने चिन्ता हुँदैन । मोबाइल पाएपछि केके हेर्छन्, हेर्छन् अनि केही समयमा बल्ल भोक लाग्यो भन्न थाल्छन् । अभिभावकले केही खाजा बनाएर दिएपछि उनीहरू खान्छन् । केही त, खाजा खाँदासमेत मोबाइल चाहियो भन्न थाल्छन् । केही समय विद्यालयले दिएको गृहकार्य गर्छन् । साना कक्षाका बालबालिकालाई अभिभावकले सिकाउनुपर्छ भने केही जानेका र ठूला कक्षाका बालबालिका आफैँ गर्छन् । समस्या परे मात्र सोध्छन् । गृहकार्यपछि अघिल्लो दिनहरूमा विद्यालयका सिकाइएको कुरा पुनः हेर्ने त कमै बालबालिका होलान् । कतिलाई अभिभावकले कर गरीगरी पढ्न लगाउँछन् । कतिलाई भनेको मान्दैन भनेर अभिभावकले यत्तिकै छोड्छन् ।
उनीहरू साथीहरूसँग खेल्न जाँदा पनि ‘मोबाइल लिएर आऊ हैं । मेरो पनि मोबाइल छ । मोबाइलमा यस्तो गेम खेल्ने’ भन्न थाल्छन् । त्यति बेला अभिभावक आफ्नै काममा व्यस्त हुन्छन्, केही त मोबाइल हेर्दै बस्छन् । बालबालिकालाई लाग्दो हो– बुबाआमाले त मोबाइल हेरेका छन् भने मैले किन हेर्न नपाउने ? सानैदेखि बालबालिका अभिभावकलाई नटेर्ने भएको पाएका छौँ । उल्टै जवाफ फर्काउने खालको ।
कति घरमा पुग्दा देखेको छु, खाना खाने समयमा पनि मोबाइल हेर्दै खान्छु भन्छन् बालबालिका । यसरी हेर्दा उनीहरूलाई थालमा खाना सकिएको समेत होस हुँदैन । आँखा मोबाइलमा हुन्छ, हात थालमा । यसरी खाना खाँदा शरीरलाई कति फाइदा बेफाइदा हुन्छ खोई !
बेलुका भइसकेपछि पनि बालबालिका मोबाइल नै हेर्न चाहन्छन्, सकेसम्म पढ्न नपरे हुन्थ्यो भन्ने सोचाई राख्छन् । अभिभावक पनि मोबाइलमा मस्त हुन्छन्, बच्चाले पनि हेर्न चाहन्छन् । पाए अभिभावककै मोबाइलमा हेर्छन् नभए अर्को छुट्टै मोबाइलमा ! उनीहरूलाई नै भनेर कति अभिभावकले त आफूले चलाउने बाहेक मोबाइल, ट्याबको पनि व्यवस्था गरेका छन् । आफू आफ्नो मोबाइलमा व्यस्त, बच्चा आफ्नै मोबाइलमा !
अभिभावकले सुत नभनेसम्म बच्चाहरू मोबाइलमा झुन्डिन्छन् । कर गरेपछि बल्लतल्ल सुत्छन् । कति त, अभिभावक सुतेको मौका पारेर भए पनि एक्लै मोबाइल हेर्छन् । अभिभावकको मोबाइलको पासवर्ड अधिकांश बालबालिकालाई थाहा नै हुन्छ । मोबाइल हेर्दा हेर्दा कति बज्छ थाहा हुँदैन, केही त रातको १ बजेसम्म मोबाइलमा खेल्दै गर्दा अभिभावकले कराउँदै सुताउनु परेको अवस्था पनि छ ।
बिहान उठ्ने वित्तिकै पनि उनीहरूलाई अभिभावक भन्दा पनि मोबाइल पाए हुन्थ्यो भन्ने लाग्छ । कतिले बुबाआमा नउठ्दै मोबाइल हेरेर बसेको पनि भेटेको छु । अभिभावक ढोका बाहिर पुग्ने वित्तिकै मोबाइल खोज्ने, चलाउने गर्छन् । मोबाइल पाएमा नचिनेका व्यक्तिको घरमा समेत बस्ने मानसिकता हुन्छ उनीहरूको । मोबाइल पाएपछि अभिभावक कहाँ गयो भनेर समेत सोध्दैनन् । मोबाइलमा रमाउँछन् । सुत्ने बेलामा भने अभिभावक सम्झँदा हुन् ।
हुन त, मोबाइलबाट राम्रा कुरा पनि सिकेका छन् । नराम्रा पनि । फाइदा, बेफाइदा दुवै हुन्छ । तर, मोबाइलप्रतिको लत भने हटाउन चुनौती छ । राम्रो सिके त राम्रै होला । नराम्रा सिके के होला ? यो लत कसरी कम गर्ने ? भन्ने अभिभावकको पक्कै चासो होला । कतै अभिभावक विर्सेर मोबाइललाई नै माया त गर्ने होइन भन्ने प्रश्न पनि उब्जिएको छ । कतिले आफ्ना आफन्त त बिर्सने होइन, पहिले मामाघर, घरका हजुरआमा, हजुरबुबालगायतसँग मज्जाले फोनमा बोल्ने गरेका बच्चा अहिले बोल्न चाहँदैनन् । मोबाइल हेरेकै समयमा फोन आयो भने रिसाउँछन् । कतिले आफन्तको नम्बर चिनेर काटिदिन्छन्, कति जो कसैको आए पनि काटिदिन्छन् । यस्तोसम्म भएका छन्, बालबालिका । मोबाइल पाएपछि हामीलाई बिर्सने, माया नगर्ने भएका छन्, हाम्रा नातिनातिना भनेर हजुरबुबा, हजुरआमाको गुनासो कति छन् कति ।
अभिभावक चिन्ता गर्दै भन्छन्– ‘भनेकै मान्दैन, कति कराउनु, कति पिट्नु, मोबाइल दिएपछि चुप लाग्छन्, हल्ला गर्दैनन् । हामीलाई अरू काम गर्न पनि सजिलो । मोबाइल नदिए खाना पनि खाँदैन, पढ्न पनि मान्दैन । एकछिन मोबाइल हेर्छु अनि पढ्नु भन्छन् ।’
मलाई लाग्छ, अधिकांश अभिभावकको प्रश्न यो हुन सक्छ, कसरी हटाउने यो समस्या ? मोबाइल हेरेर हैरान पारेको छ । मोबाइल नदिए रोएरै बस्छन् । नदिए पनि गाह्रो, दिए पनि गाह्रो ।
सामाजिक सञ्जालमा अभिभावकका लागि लक्षित विभिन्न सामग्रीहरू आइरहेको हुन्छ । असल अभिभावक बन्ने टिप्सहरू सिकाइरहेको हुन्छ । यसमा हामी कत्तिको सचेत छौँ । बालबालिकाप्रति कति चासो दिएका छौँ । हामीले के गरिरहेका छौँ ? एकपटक सोच्ने हो कि !


















Discussion about this post