काठमाडौँ । मर्स्याङदी गाउँपालिका वडा नं. ६ दिङदिङ निवासी मृगौला पीडित कृष्ण गुरुङलाई बेलायत र अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।
दुवै मृगौला फेल भई मृगौला प्रत्यारोपण गरेर बसेका गुरुङलाई बाहुनडाँडा, घेर्मु र ताघ्रिङ घर भइ बेलायती सेना तथा अन्य प्रयोजनले हाल बेलायत स्थायी वसोवास गर्नेहरुको विशुद्ध सामाजिक संस्था बा.घे.ता. समाज युकेको नेतृत्वमा बेलायतमा संकलित २ लाख ५९ हजार ५५ रुपैयाँ सहयोग प्राप्त भएको हो । हाल स्वदेशमा आफन्तसंग भेटघाट गर्ने कार्यक्रम लिएर नेपाल आउनु भएका बा.घे.ता. समाज युकेका पूर्व अध्यक्ष, समाजसेवी क्या. देवबहादुर घलेले आइतबार काठमाडौंमा उक्त रकम पीडित गुरुङलाई प्रदान गर्नुभएको हो । समाजको पहलमा बेलायतमा “कृष्ण गुरुङ बचाआँै अभियान” सञ्चालन गरिएको र अभियानमा उक्त रकम संकलन भएको घलेले बताउनुभयो । उक्त सहयोग रकमले पीडितको औषधी उपचारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, मर्स्याङदी गाउँपालिका वडा नं. ६ बाहुनडाँडाँ घर भइ हाल अमेरिका वसोवास गर्नुहुने योङ्ग स्टार क्लबका संस्थापक सदस्य समाजसेवी मोहन पुनेल र उहाँको परिवारजनबाट संकलित १ लाख रुपियाँ पनि पीडितलाई प्रदान गरिएको छ ।
रकम हस्तान्तरणको क्रममा लमजुङ उत्तरी भेग तमु समाज काठमाडौँका अध्यक्ष मनिप्रसाद गुरुङ, लमजुङ उत्तरी भेग आमा समूह काठमाडौँका अध्यक्ष माया गुरुङलगायतको उपस्थिति थियो ।
बा.घे.ता. समाज युके प्रवासमा स्थापित संस्था हुनुको वावजुत पनि स्वदेश, विशेष गरि बा.घे.ता. लाई आफ्नो कार्य क्षेत्रको रूपमा हेर्दै आएको एक मानवीय पुण्य कार्य गर्ने संस्था को रूपमा अग्र स्थानमा दर्ज छ ।
तीनै वडा का शैक्षिक, खेलकुद, स्वास्थ्य क्षेत्रमा, विभिन्न समस्या र दुर्घटना मा परेका परिवारलाई निस्वार्थ सहयोग गर्दै आइरहेको छ ।




















Discussion about this post