काठमाडौं । बरिष्ठ समाजसेवी राजकुमार सुनार (राजशान्ति) ले अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गर्नुभएको छ ।
सुन्दबजार नगरपालिका ९ फुलबारी स्थायी घर भई हाल बेलायतमा कार्यरत समाजसेवी सुनारले तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, मलेशिया अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गर्नुभएको हो । राजशान्ति फाउण्डेशन युकेका संस्थापक सुनारले समाजमा गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै क्वालिटी फिल्मस् प्रा.लि. द्धारा मलेशियाको राजधानी क्वालालम्पुरमा नोभेम्बर २६, २०२३ का दिन आयोजित अवार्ड समारोहमा सम्मानित गरिएको हो ।
सम्मानपत्रमा प्रा.लि. का अध्यक्ष तथा प्रबन्ध निर्देशक उमेश गुरुङ, नेपाली राजदुताबास क्वालालम्पुर, मलेशियाका राजदुत डिल्ली राज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
बुवा पूर्ण बहादुर सुनार र आमा कृष्ण कुमारी सुनारको सुपुत्रको रुपमा जन्मनुभएका सुनार लामो समयदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक सेवामा क्रियाशील हुनुुहुन्छ । लामो समयसम्म बृटिस गोर्खा सेनामा रहेर बेलायतको जनताहरुको सेवा गर्नुभयो । हाल बृटिस सेनाबाट अवकाश प्राप्त गरी गीतकार, लेखक, साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।
बेलायतमै रहेर सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ । सामाजिक संस्था राजशान्ति फाउण्डेशन स्थापना गरेर सो संस्था मार्फत लामो समयदेखि सामाजिक कार्य गर्दै आउनुभएको छ ।
राजशान्ति फाउण्डेशन मार्फत २०७२ सालमा नेपालका भूकम्प पीडितहरुलाई विभिन्न खाद्य सामग्री प्रदान गर्नुका साथै २०७६÷०७७ सालमा पनि कोरोनाबाट जोगिन नेपालीहरुलाई स्यानीटाइजर, मास्कलगायतको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको थियो । यस्तै नेपालका विपन्न परिवारका क्यान्सर पीडित, मृगौला पीडितको उपचारमा पनि उहाँले आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
लमजुङका विपन्न विद्यार्थीहरुलाई अध्ययनका लागि आफ्नो छात्राबृत्ति दिईरहनु भएको छ । जिल्लाको खेलकुद क्षेत्रको विकासमा लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । गीत संगीत क्षेत्रको प्रोत्साहनका लागि निम्न स्तरका कलाकारहरुलाई आर्थिक सहयोग गर्दै आउनुभएका सुनार कुशल सामाजिक अभियन्ताको रुपमा लोकप्रिय हुनुहुन्छ । उहाँलाई अघि बढ्न र सामाजिक कार्यमा सक्रिय रहन धर्मपत्नी शान्ती सुनार (राजशान्ति) को पनि त्यत्तिकै ठूलो देन रहेको छ । सम्मानित सुनारले आफूले गरेको समाजसेवाको योगदानको मूल्यांकन गर्दै सम्मान गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले सधैं समाजको विकासका लागि लागिरहने बताउनुभयो ।





















Discussion about this post